काठमाडौँ, ११ भदौ- सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको खबर नयाँ पत्रिकामा छ ।

शनिबार महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कासि सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको निष्कर्ष निकालेको छ । ‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यवाहक सभापति तोकिएपछि बैठकमा अधिकांश नेताहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ भेलामा सहभागी एक नेताले भने, ‘कार्यवाहक बनाउँदा विधि, परम्परा केहीलाई पनि ध्यान दिइएन । अकस्मात् कार्यवाहक बनाइयो भनेर साथीहरू असन्तुष्ट हुनुहुन्छ ।’ भारतको राजकीय भ्रमण गर्ने दिन ७ भदौमा देउवाले केन्द्रीय समितिमा आठौँ वरीयताका निधिलाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए ।