पूर्व माओवादी घटकका नेताहरूको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खर शुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरद्ध सर्वोच्चमा रिट परेपछि माओवादी धारका नेताहरु सशंकित भएका छन् । सोही विषयमा केन्द्रीत भएर छलफल गर्न आज पनि बैठक बसेको हो ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकका नेताहरूलाई एकताबद्ध हुन आग्रह गर्दैआएका छन् । युद्धकालिन मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत समाधान गरिनुपर्ने भन्दै माओवादी धारका नेताहरुले पछिल्लो रिटप्रति आपत्ति जनाएका छन् । त्यसको संयुक्तरुपमा प्रतिवाद गर्ने पनि नेताहरुले सहमति गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि यसको पूर्वमाओवादी घटकहरुले एक भएर प्रतिवाद गरिरहेका छन् । बैठकमा अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी नेताहरु सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा, कर्णजीत बुढाथोकी, आहुति, हेमन्तप्रकाश ओली, दीपक चलाउने, धर्बेन्द्र बास्तोला, हिसिला यमी, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता तथा पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले बताए ।