
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति महिला हुनु उपयुक्त हुने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।
माओवादी घटकहरूको बैठकपछि शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनु उचित हुने बताएका हुन् ।
‘उपराष्ट्रपतिमा जसले सिफारिश गरे पनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था, स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ,’ उनले भने ।
सत्ताको भागबण्डामा जनता समाजवादी पार्टी (जसपा)को भागमा उपराष्ट्रपति परेको छ । जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय लिएपछि उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै माग हुन थालेको हो ।
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने बताए ।