
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भए पनि गठबन्धनबीच जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने निर्णय नभइसकेको बताएका छन्।
शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनले अब छिट्टै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने पनि बताए।
उनले दलहरूबीच सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए।
त्यस्तै उनले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको पनि स्वीकार गरेका छन्।
जसपाले ८ दलीग गठबन्धन बैठकमा उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको थियो।
हिजो बिहीबार बसेको पार्टीको बैठकले गत मंसिर ४ मा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निर्णयसमेत गरेको थियो।
गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमतिसमेत भएको थियो।