
काठमाडौं, ११ भदौ — आयरल्यान्डमा क्यानाडाका राजदूत केभिन विकर्सलाई राजदूतावासमा प्रेतको आत्मा घुमिरहेको चिन्ता छ ।

हालै उनले फेसबूकमा एउटा पोस्ट गर्दै आफ्नो निवासमा अचम्मका आवाजहरू सुनेको लेखे ।
राजदूत निवासको मुख्य हलमा भारी कदम र तीव्र श्वासको आवाज सुनिएको पनि उनले लेखेका छन् ।
इतिहासमा रुचि राख्ने विकर्सका अनुसार आयरल्यान्डमा १९१६ मा भएको ईस्टर क्रान्तिसँग जोडिएका कुनै नेताको आत्मा घुमिरहेको हुन सक्छ ।
डब्लिनको रेनलमा रहेको यो घरमा राष्ट्रवादी नेता प्याट्रिक पीयर्स पनि बस्थे भनी विकर्स यो ठाउँमा बस्न आउँदा हल्ला सुनेका थिए ।
पीयर्स १९१६ मा बेलायती शासनविरुद्धको क्रान्तिका एक योजनाकार थिए ।
अप्रिल १९१६ मा ६ दिन चलेको विद्रोहमा ४५० भन्दा बढी मानिस मारिएका थिए र साढे दुई हजारभन्दा बढी घाइते भएका थिए ।
पीयर्सको कोर्ट मार्सल गरेर फाँसीमा चढाइएको थियो ।
विकर्स फेसबूक पोस्टमा लेख्छन्, ‘पीयर्सको आत्मा नै हलमा हिँडिरहेको हुन सक्छ ।’
विकर्सलाई २०१५ मा आयरल्यान्डका लागि क्यानाडाको राजदूत बनाइएको थियो ।
बीबीसीबाट