
जेल जीवन बिताएर केही दिनअघि रिहा भएका अभिनेता एवं मोडल पल शाहलाई भेट्न र बधाई दिन दैनिक जसो उनको निवासमा कलाकर्मीहरुको भीड लाग्ने गरेको छ ।
दिनहुँजसो थुप्रै कलाकर्मी उनको निवासमा पुगेर उनलाई भेट्दै बधाई र शुभकामना दिइरहेका छन् ।
यसैबीच, बिहीवार वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले पलसँग भेट गरेर उनलाई र उनको परिवारलाई आशीर्वाद दिएकी छिन् ।
पल र उनको परिवारलाई नै निधारमा रातो टीका लगाइदिएर बसुन्धराले आशीर्वाद दिएको फेसबुकमा उल्लेख गरेकी छिन् ।
पललाई भेट्दाको थुप्रै तस्वीरहरु फेसबुकमा पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘पल र सबै परिवारलाई टीका लगाई धेरै आशीर्वाद दिएकी छु र सबै परिवारलाई तेत्तिस कोटी भगवानले सधैभरी रक्षा गरुन भनेर हामी सदैव प्रार्थना गर्दछौं ।’
उनले पललाई कर्मको छोरो भन्दै उनीसँग भेट्न पाउँदा आफ्नो हर्षको सीमै नरहेको उल्लेख गरेकी छन् ।
उनले पल पहिलाभन्दा झन् ह्यान्डसम भएको पनि बताएकी छिन् ।
‘पहिले भन्दा अहिले झन ह्यान्डसम भएर पो आएछ । पललाई मैले धेरै नै पोजेटिभ देखे । हुन त उ पहिलेदेखि नै पोजेटिभ विचार भएको मान्छे हो’ – उनले लेखेकी छिन् ‘सबै शुभचिन्तकहरूको प्रार्थना र आशीर्वादले गर्दा ढिलै भए पनि न्याय पाएका छन् । पल छोराले विगतमा भन्दा अझ बढी प्रगति गर्दै जाओस् भनि म तेत्तिस कोटी भगवानसँग सदैव प्रार्थना गर्दछु ।’
पल केही दिनमै अभिनयमा फर्किने तयारीमा छन् ।