
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।
विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो ।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको सपथ ग्रहणमा उनले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्कसमेत गरे।
अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको आरोप लगाए।
खेलाडीहरूलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि उनले आग्रह गरे।
निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोहीअनुसार अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराए।
अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए।
उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वाससमेत व्यक्त गरे।