०५ साउन २०८३, मंगलबार

स्ववियु निर्वाचनमा उत्साहजनक उम्मेदवारी दर्ता

फागुन २७, २०७९
स्ववियु निर्वाचनमा उत्साहजनक उम्मेदवारी दर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिवार उत्साहजनक रूपमा उम्मेदवारी भएको छ । 

शनिवार उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए ।

‘देशभरिका क्याम्पसमा उत्साजनक रूपमा उम्मेदवारी दर्ता भएका छन्,’ उनले भने, ‘केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र संवाद गरेर निर्वाचन प्रक्रिया शुरू गर्न निर्देशन दिएका छौं ।’

विद्यार्थी संगठनले आआफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए । स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो ।  

शनिवार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी संगठनका तर्फबाट उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।

निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विक्रम संवत् २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् । 

निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेस्टरतर्फ १ हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो । त्रिविले यसअघि पटक–पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी संगठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन । प्रत्येक २/२ वर्षमा हुने स्ववियु निर्वाचन विक्रम संवत् २०६५ यता नियमित हुनसकेको छैन ।

विक्रम संवत् २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक ८ वर्षमा विक्रम संवत् २०७३ चैत १५ गते भएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले शनिवार मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली शनिवारै प्रकाशन गरिएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्