०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाको भारत भ्रमणका केही विषयमा एमालेको आपत्ति

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाको भारत भ्रमणका केही विषयमा एमालेको आपत्ति

काठमाडौं, ११ भदौ - नेकपा (एमाले)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा व्यक्त गरेका कतिपय अभिव्यक्तिहरुमा आफूहरुको ध्यानआकर्षण भएको जनाएको छ ।
एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले भ्रमणका अवसरमा जारी संयुक्त वक्तव्यमा उल्लेखित कतिपय विषयप्रति समेत ध्यानआकर्षण भएको जनाएको छ ।

साथै बैठकले भारतले बनाएका बाँधको कारण भइरहेका डुबान, नेपाली उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित, बर्षौंदेखि अधुरा रहेका परियोजनाको कार्यान्वयन लगायतका विषयमा विभिन्न राजनीतिक दलले दिएको सुझाव र आम नेपाली जनताको भावनाको यथोचित सम्मान प्रधानमन्त्रीबाट हुन नसकेको समेत बैठकले निश्कर्ष निकालेको छ ।

एमालेले जारी गरेको विज्ञप्तिमा यस्तो भनिएको छ –

नेकपा (एमाले) स्थायी कमिटीको ७७ औं बैठक आज भदौ १० गते का.वा. अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकले देहायको निर्णय गरेको छ –
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा व्यक्त गर्नुभएका कतिपय अभिव्यक्ति तथा भ्रमणका अवसरमा जारी संयुक्त वक्तव्यमा उल्लेखित कतिपय विषयप्रति नेकपा (एमाले) को गंभीर ध्यानाकर्षण भएको छ ।

नेपालको तराई भूभागलाई बर्षेनी डुबानमा पार्ने तथा यो बर्षको विनाशकारी डुबानको मुख्य कारकको रुपमा रहेका भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका बिषयमा गंभीर छलफल गरी दिगो समाधान खोज्न, नेपालको व्यापार घाटा कम गर्नका लागि नेपालका कृषि तथा औद्योगिक उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, बर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलले दिएको सुझाव र आम नेपाली जनताको भावनाको यथोचित सम्मान प्रधानमन्त्रीबाट हुन नसकेको बैठकको निष्कर्ष रहेको छ ।

संविधान संशोधनको बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम मात्रै गरेको छैन, यसले संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको छ । संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयं प्रधानमन्त्रीको निष्ठामाथि समेत प्रश्नचिह्न खडा गरेको बैठकले ठहर गरेको छ ।

नेकपा (एमाले) प्रधानमन्त्रीका यी गलत अभिव्यक्तिप्रति गंभीर आपत्ति प्रकट गर्दछ ।
नेपालले जलविद्युत लगायत नवीकरणीय उर्जाका माध्यमबाट इन्धनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा अग्रसर भइरहेको परिप्रेक्ष्यमा प्राकृतिक तथा एलपिजी ग्यास पाइपलाइन बिछ्याउने समझदारीले नेपाललाई थप परनिर्भर बनाउन सक्ने तथ्यप्रति पार्टीले चासो व्यक्त गरेको छ । त्यसरी नै, राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगबीच बर्षेनी नीतिगत परामर्श गर्ने वाध्यात्मक प्रावधान आवश्यक नरहेको समेत बैठकको निष्कर्ष छ ।
यी लगायत अन्य कतिपय विवादास्पद विषयमा सार्वभौम संसदमार्फत् नेपाली जनतालाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्