
अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बुलाकी’को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक गरिएको छ ।
गायक सीडी विजय अधिकारी र गायिका रचना रिमालको स्वर रहेको गीतको भिडियोमा गायक कृष्ण रेउले र मोडल अनु पराजुलीलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।
गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकारहरू अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको नृत्य समेत हेर्न सकिन्छ ।
कविराज गहतराजले यस गीतको कोरियोग्राफी गरेका हुन् ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा सुरक्षा र नरेनसँगै विराज विष्ट, सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी लगायतको समेत अभिनय छ ।
मोती बिष्टको प्रस्तुति रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । राज बहादुर सानेको कथा रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, त्यहाँको रीतिरिवाजलाई पेस गरिएको छ ।
शिव ढकालले खिचेको फिल्मलाई अर्जुन जीसी र लक्ष्मण सुनारले सम्पादन गरेका हुन् ।
फिल्म नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।