
पशुपतिनाथ मन्दिर क्षेत्रमा आज मंगलवारदेखि वत्सलेश्वरी बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा शुरु हुनेभएको छ । पशुपति क्षेत्र विकास कोषले सोमवार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
कोषले आज साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा चल्ने जनाएको छ । चैत्र कृष्णाष्टमी शीतला अष्टमीमा शुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ ।
जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्नेछन् । यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवतालाई धुप बालेर पूजा गर्ने गरिन्छ ।
बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ । नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ ।
कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ जात्राहरुको थलो भएकाले यसको संरक्षण र संवद्र्धनको आवश्यक्ता रहेको बताए ।
पाशुपत क्षेत्रबाट शुरु हुने भएकाले यो जात्रालाई स्थानीय जात्रा भने पनि मुलुकभर हुने जात्रा रहेको बताए । यो जात्रालाई कोषले मुलककै जात्राको रुपमा विकास गर्ने र जात्रा हेर्न आउने विदेशीहरुका लागि आवश्यक सहयोग र फोटो खिचेर आफ्ना क्षेत्रमा प्रचार गर्नसक्ने वातावरण सिर्जना गर्ने बताए ।
जात्रा सञ्चालनका लागि परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोकत्वमा १३ जनाको पर्व सञ्चालन एवं समन्वय समिति पनि गठन गरिएको उनले जनाए ।