
चैत ५ गते तय भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आगामी चैत २ गते राति १२ बजेसम्म प्रचार प्रसार गर्न पाइने भएको छ । सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको थियो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउने छन्।
स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने सूचनामा उल्लेख छ । आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ।
केही क्याम्पसमा भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका छन्। सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको अधिकारीले बताए ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।