१२ असार २०८३, शुक्रबार

शालिग्रामको महिमा बढाउन परियोजना सञ्चालन

फागुन ३०, २०७९
शालिग्रामको महिमा बढाउन परियोजना सञ्चालन

शालिग्राम पाइने एक मात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालिग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालिग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्न कालीगण्डकी किनारमा कृष्णगण्डकी उक्त परियोजना सञ्चालनमा ल्याइएको हो । 

सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी) को प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा परियोजना निर्माण गर्न थालिएको छ । सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ परियोजना अगाडि बढाइएको छ । 

खुतुर्केघाटस्थित लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा उक्त परियोजना थालिएको यसको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास (प्रदीप भण्डारी) ले बताए । कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकीमा स्नान, ध्यान, योग र तपस्याका लागि जग्गा व्यवस्थापनको काम भइरहेकोे छ । 

आगामी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र बाँकी पाँच वर्षमा अन्य काम सम्पन्न गर्ने लक्ष्य छ । दुई चरणमा सम्पन्न गरिने सो परियोजनाअन्तर्गत पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम निर्माण गरिने छ । “यो मुठ्ठी दानमा सञ्चालन हुनेछ, सरकारी निकायसित पनि बजेट माग्दै छौँँ”, दासले भने । परियोजना सम्पन्न गर्न झण्डै रु १७ करोडको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले रु ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्