
दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्केका २०० कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन् ।
१ हजार किलोमिटर पैदल यात्रा गरी बुद्धस्थल यात्रा गर्दै उनीहरू मंगलबार लुम्बिनी आइपुगेका हुन् ।
कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा भिक्षुहरू तीर्थयात्रामा निस्केका थिए । लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा स्वागत गरेको छ ।
कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन्।
कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरूलाई रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीहरूलाई बुद्धजन्मस्लमा खादा ओढाएर स्वागत गरे ।
घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्ल लुम्बिनी आएका बौद्ध भिक्षुसहित टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबीच सम्बन्ध थप प्रगाढ बनेको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहित तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउदा खुशी लागेको बताए ।
उनले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दूरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरूका लागि खुशीको क्षण रहेको बताए ।
भारतस्थित बोधगया, शारनाथ, कुशीनगर हुँदै पैदलयात्रीहरू लुम्बिनी आइपुगेका हुन् ।

मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङ्गले प्रवचन दिएका थिए ।
लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरूबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरूको ठूला समूह बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।