
‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल' गठन भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बालाजुस्थित बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुखहरुको वैठकले मंगलबार सञ्जाल गठन गरेको हो ।
उपप्रमुख–उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामना गर्न साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।
सञ्जालले सामुहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ । उपप्रमुख–उपाध्यक्षलाई न्याय सम्पादन, अनुगमन तथा सुपरीवेक्षण, गैरसरकारी संघ संस्था परिचालन तथा समन्वय, नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुको अधिकार दिएको छ । यस्तै राजस्व परामर्श समिति, नगर सभा र कार्यपालिकाबाट गठन गरिएका विषयगत समितिहरुका बिचमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्य सम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने बैठकका अध्यक्ष एवं महानगरका कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
सञ्जालको हरेक महिना बैठक बस्ने बताइएको छ । त्यो बैठकले अर्को बैठकको मिति र स्थान तय गर्नेछ । यसरी तय भएको बैठक जुन पालिकाले आयोजना गर्ने हो, बैठकको अध्यक्षता पनि त्यही पालिकाका उपप्रमुख तथा उपाध्यक्षको हुनेछ । हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतिकरण र छलफल गरिने योजना बनाइएको छ ।