०५ साउन २०८३, मंगलबार

हुलाकी सडक निर्माणलाई गति दिन महानगर प्रमुखको निर्देशन

हुलाकी सडक निर्माणलाई गति दिन महानगर प्रमुखको निर्देशन

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

निर्माण कम्पनीका प्रतिनिधिलाई मंगलवार महानगरमै बोलाएर स्थानीयले धेरै नै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिए ।

विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसँग कोइरालाले छलफल समेत गरे ।

स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न प्रमुख कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । विक्रम संवत् २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो तर भूमि कन्ट्रक्सन निर्माण कार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनीयर दीपेन्द्र चौधरीले जानकारी दिए ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इन्जिनीयर अर्जुन थापा, निर्माण कम्पनीका इन्जिनीयर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौलाको सहभागिता रहेको थियो । 

स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको साइट इन्चार्ज निरौलाले गुनासो गरे । उनले पश्चिमबाट काम शुरू भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगर प्रमुख कोइरालासँग आग्रह गरेका थिए । वर्षातमा हिलाम्मे र सुक्खामा धुलाम्मे भएपछि स्थानीय जनताले निर्माण कार्यलाई दबाब बढाउन ढाट लगाउनुपरेको गुनासो गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्