१८ असार २०८३, बिहीबार

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सरावल गाउँपालिकाले विगत ७ वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ ।

सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ ।

सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत ३० लाखको लागतमा ४ कोठे भवन वडा नम्बर २ अत्रहटिमा निर्माण गरिएको हो ।

अबको दिनमा आयुर्वेद औषधालयमा थप सेवा विस्तारका साथै गाउँपालिकामा योगाहल निर्माणको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए । नवनिर्मित भवनबाट आगामी वैशाखदेखि सेवा सञ्चालन हुनेछ ।

निःशुल्करूपमा सेवा प्रदान गर्ने भावनाले सरावल गाउँपालिका र नेपाल सरकारको सशर्त अनुदानबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । निःशुल्क टिकटको माध्यमबाट सेवा प्रदान गर्ने दैनिक २५ देखि ३५ सेवाग्राही आउने गरेका मनरी आयुर्वेद औषधालयका कविराज निरीक्षक सन्तोषकुमार कहारले बताए ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, सुखी र निरोगी नेपाल तथा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा’ अवधारणाका साथ २०७२ असारमा स्थापना भएको सो औषधालयले सेवा प्रवाह गर्दैआएको छ । प्रत्येक महिनामा करिब सात सयदेखि आठ सय सेवाग्राही आउने भएकाले औषधि अभाव भएको केन्द्रले जनाएको छ । यस केन्द्रबाट सरावल गाउँपालिका साथै बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिकाबाट पनि सेवाग्राहीले सेवा लिइरहेका छन् ।

धेरैजसो महिला सेवाग्राही बढी आउने गरेको सेवा केन्द्रले जनाएको छ । सेवा केन्द्रबाट हाडजोर्नी दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, कब्जियत इत्यादि रोगको उपचार गरिँदै आएको छ । चालू आर्थिक वर्षको ७ महिनामा करीब ३ हजार २ सेवाग्राहीलाई सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ ।

हाल औषधालयमा कविराज, वैध, औषधि कुटुवा र कार्यालय सहयोगी गरी ४ कर्मचारी कार्यरत छन् । सेवा केन्द्रले आफ्नो स्थापनाकाल २०७२ असारदेखि २०८९ फागुनसम्म १ लाख १ हजार ६३ जनालाई सेवा प्रदान गरेको आयुर्वेद औषधालयको तथ्यांकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्