
सिस्ने शिक्षा क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको नागरिक सहायता कक्षमा देखिन्छिन् । उनी बिहानीको समयमा पढाइ सकाएर कानूनी सहायता कक्षमा गई सेवा गर्छिन् ।
जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न काम लिएर पुग्ने सेवाग्राहीलाई समस्या नपरोस् भनेर बुढाथोकीले सहजीकरणको भूमिका खेलिरहेकी छन् ।
बुढाथोकीसँगै बीएड प्रथम वर्षमा अध्ययनरत पवित्रा बुढा पनि बिहानको पढाइ सकाएर दिनभर नागरिक सहायता कक्षमै गएर प्रशासनमा आउने सेवाग्राहीलाई सेवा दिन्छिन् । उनीहरू दुवै जनाको यो काम १ सातासम्म चलिरहने छ । फेरि अर्को हप्ता यही कक्षमा क्याम्पसका नयाँ २ अनुहार देखिने छन् ।
विक्रम संवत् २०७९ फागुन १० गते जिल्ला प्रशासन कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेर सेवा प्रवाहलाई थप सहज बनाउने प्रयास गरेको छ । सिस्ने गाउँपालिका–५ मा अवस्थित जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पससँगको सहकार्यमा अहिले नागरिक सहायता कक्ष सञ्चालनमा छ ।
सहायता कक्षमा विद्यार्थीले स्वयंसेवकका रूपमा काम गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न काम लिएर कोही दर्जनौंपटक पुगिसकेका हुन्छन् भने कोही पहिलोपटक पुगेका हुन्छन् । पहिलोपटक प्रशासन कार्यालयसम्म पुगेकालाई कुन कोठामा जाँदा के सेवा पाइन्छ भन्ने थाहा हुँदैन । सेवा लिने क्रममा उनीहरूले प्रक्रिया के हुन्छ भनेर राम्रोसँग बुझेका हुँदैनन् । त्यस्ता नागरिकलाई सेवा प्रक्रिया र कुन कोठामा जाँदा के सेवा पाइन्छ भनेर जानकारी गराउने काम अहिले नागरिक सहायता कक्षबाट भइरहेको छ । यसबाट सेवाग्राहीलाई धेरै सहज भएको छ ।
पुथा उत्तरगंगा गाउँपालिका–१४ का रमन विकले नागरिक सहायता कक्ष र यसबाट नागरिकलाई पर्न गएको सुविधाको मात्र नभई पछिल्लो समयमा फेरिएको जिल्ला प्रशासन कार्यालयको स्वरूप र यहाँको नेतृत्वको प्रशंसा गरे । नागरिक सहायता कक्षबाट सेवा प्रवाह हुन थालेपछि विभिन्न कामका लागि प्रशासन कार्यालयसम्म पुग्नेलाई सहज भएको विकको भनाइ छ ।
अर्का सेवाग्राही शर्मिला बुढामगरले हातमा कागजात समाएर यो सिफारिस लिएर कहाँ जाने हो भनेर सोध्दै गर्दा कार्यालय परिसरमै भएको १ जनाले नागरिक सहायता कक्षमा जानु भनेर सिकाए । भूमे गाउँपालिका–१ का वडाध्यक्ष मनकाजी पुनले नागरिक सहायता कक्षले अलमलमा परेका नागरिकलाई सिकाइदिने र यसले उनीहरूको समय बचत हुने बताए । उनी भन्छन्, ‘जिल्ला प्रशासनमा राम्रो कामको शुरूआत भएको छ । यसले पछिसम्म निरन्तरता पाए धेरै सहज हुनेछ ।’