काठमाडौ, १२ भदौ- सरकारले अध्यागमन विभाग निजामती कर्मचारीबाट खोसेर नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ । निजामती कर्मचारीले अध्यागमन विभाग, त्यस अन्र्तगतका कार्यलयहरुको प्रभावकारी व्यवस्थापन र नाकाहरुबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको सरकारको निष्कर्ष छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गृहमन्त्री जनार्दन शर्माबाटै भइरहेको यस्तो गृहकार्यलाई लिएर गृह सचिव लोकदर्शन रेग्मी सहितका उच्चपदस्थ चाहिं असन्तुष्ट छन । शर्माले यस विषयमा 'अहिलेकै अवस्थामा अध्यागमन चल्न नसक्ने निष्कर्षमा पुगेको' वताए । उनले अध्यागमन सुधारका लागि विभिन्न विकल्पबारे छलफल भएको तर कुनै निर्णयमा पुगिनसकेको पनि उल्लेख गरे । 'कि अहिलेका कर्मचारीलाई तालिम दिनु पर्यो की त वेग्लै फोर्स गठन गर्नुपर्यो,'उनले भने।
मन्त्री शर्माले गत महिना अध्यागमन विभागका तत्कालिन महानिर्देशक गंगाराम गेलाललाई बोलाई अध्यागमन व्यवस्थापन प्रहरीलाई दिने तयारीबारे बताएका थिए । अर्थ मन्त्रालयमा सरुवा हुन अघि गेलालले कर्मचारीहरुसँग गृहमन्त्रीको उक्त भनाईबारे जानकारी गराएका हुन् ।