
नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल नै सार्वजनिक गरेकी छिन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभिनेत्री उप्रेतीले ११ बुँदे प्रतिवद्धतासहित प्यानल घोषणा गरेकी हुन् ।
उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरी नेपाल ‘बैरागी’ र सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई रहेका छन् ।
त्यस्तै रञ्जना खड्का ‘खुश्बु’, खिन्न भण्डारी (भोला), निर्मल स्याङताङ (बुद्धिमान), लक्ष्मण चौलागाई (खिम्ते काका), ईश्वर बल्लभ उप्रेती, दिल ब. दोङ (डिबि), रामकुमार कार्की, राजेश गोसाइँ, नितु कोइराला, भिमसेन बजगाईँ र दिनेश अवाल अभिनेत्री उप्रेतीको प्यानलबाट सदस्य पदको उम्मेदवार छन् ।

प्यानल घोषणासहित प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्षकी उम्मेदवार उप्रेतीले भनिन्, ‘कलाकारको हकहितका लागि म भन्दापनि हामीका रुपमा एक भएर अगाडि बढेका छौं । भोलिका दिनमा पनि एकीकृत भएर संघमा उत्कृष्ट काम गर्ने विश्वासका साथ समूहसहित निर्वाचनमा उत्रिएकी छु ।’ उनले आफूहरूले सार्वजनिक गरेका चुनावी प्रतिवद्धताहरु पूर्ण रुपमा पूरा गर्ने प्रण गरिन् ।

अभिनेत्री उप्रेतीले सार्वजनिक गरेको ११ बुँदे घोषणा पत्रमा कार्यालय व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी योजना, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेका छन् ।
यही चैत ४ गते शनिवार संघको महाधिवेशन तथा निर्वाचन हुँदैन । संघको अध्यक्षमा रेजिना उप्रेतीसहित अभिनेता मोहन निरौला उम्मेदवार छन् । उप्रेती र निरौला वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार निरौलाले भने भोलि बिहीवार प्यानल घोषणा गर्दैछन् ।
तस्वीरहरु : गोपीकृष्ण चापागाईँ