रोजगारीका लागि भूमि सम्बन्धी घोटालामा भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई धरौटी राखेर पक्राउ हुनबाट रोकिएको छ ।
राउज एभेन्यु अदालतले लालुसँग ५० हजार भारुको धरौटी लिने आदेश दिँदै प्रहरीलाई पक्राउ नगर्न भनेको छ । सन् २००४ देखि २००९ सम्म रेल मन्त्री हुँदा लालु र उनको परिवारले जागिर दिने नाममा मानिसहरूसँग जग्गा उपहार लिएर भ्रष्टाचार गरेको आरोप छ ।
लालुलाई यस मुद्दा पक्राउ नगरिने भएपछि उनको राष्ट्रिय जनता दलका विधायकहरूले खुशियाली मनाएका छन् ।
ती विधायकहरूले राजभवनसम्म जुलुस लैजाने तयारी गरेका भारतीय जनता पार्टीका विधायकहरूसँग झगडा गरेका थिए । आफूहरूमाथि लड्डुको बट्टा फ्याँकिएको भाजपा नेताहरूको आरोप छ ।
झगडाको क्रममा भाजवा विधायक अरुण सिन्हाको कुर्ता पनि च्यातिएको छ ।
भाजपाका सबै विधायक लखेन्द्र पासवानको निलम्बनको विरोध गर्दै सदनबाहिर धर्ना दिइरहेका थिए । त्यसैबीचमा आरजेडीका विधायकहरू लालु पक्राउ नपरेको खुशीमा लड्डु लिएर पुगेका थिए ।
उनीहरूले भाजपा विधायकलाई पनि लड्डु दिन खोजेका थिए । आफूहरूले लड्डु लिन नमानेपछि बट्टा फ्याँकेको भाजपा विधायकहरूको भनाइ छ ।
भाजपा विधायक भूषण ठाकुर बचौलले आफूलाई जबर्जस्ती लड्डु खुवाइएको बताए ।
पछि विधानसभाका सभामुखले लखेन्द्र पासवानको निलम्बन फिर्ता लिएका थिए । निलम्बन फिर्ता लिइएपछि पासवान विधानसभा बैठकमा सहभागी बने ।