
जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेंसीका किसान आँप खेतीमा लागेका छन् ।
डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् ।
अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरूले आँप खेतीबाट मनग्य आम्दानी समेत लिन थालेका छन् । तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँघेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबिसै घण्टा बाँदर र बँदेल रुँघ्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँछन् स्थानीय ६४ वर्षीय डेढराज दाहाल ।
‘पहिले अरु बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँघ्नुपथ्र्यो,’ उनले भने, ‘तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँघे पुग्छ ।’ १२ वर्षअघिदेखि १९ रोपनीमा आँप लगाएका दाहालले अहिले वार्षिक ३ लाखसम्मको आँप बेच्ने गरेको बताए । तथापि असिनापानीजस्ता प्राकृतिक प्रकोपका कारण आँप खेतीमा पनि जोखिम कायम नै रहेको दाहालको भनाइ छ ।
२५ रोपनीमा आँप खेती गरिरहेकी सोही गाउँकी ५५ वर्षीया उषादेवी विष्टले बँदेल र बाँदरले केही खानै नदिएपछि सबै जमिनमा आँप लगाएको सुनाइन् । विक्रम संवत् २०५३ सालदेखि आँप रोप्न शुरू गरेर अहिले बगैंचा बनाएकी विष्टले त्यो बेला सम्झँदै भनिन्, ‘भर्खरै बिहे गरेर आउकी थिएँ, राति बारीको मकैमा बँदेल छिरेछ, बिहान हेर्दा सिरानबाट तलैसम्म लिपेको थियो ।’
त्यो बेलादेखि सारा संसार गुहार लगाउँदा पनि यसको समाधान नभएपछि सबै गाउँले आँप खेतीतर्फ लागेको उनले जानकारी दिइन् ।
बस्नेतले जस्तै विष्टले पनि वार्षिक ३ लाखसम्मको आँप बेच्ने गरेको सुनाइन् । बँदेलले रुख चढेर आँप नखाए पनि भूइँमा भरेको आँप खाएर हैरान पारेको उनको गुनासो छ । घरायसी सबै गर्जो र आराम बिरामी हुँदासमेत आँपको बगैंचा देखाएर ऋणपान गर्नुपर्ने हुँदा आँप नफलेको वर्ष भने ज्यादै समस्या हुने गुनासो उनले सुनाइन् ।
जंगलको नजिक जमिन भएकाले वैकल्पिक खेतीका रुपमा आँप बगैंचा लगाउन थालेपछि अरुको जमिनमा ओस पर्ने भएकाले सबैले आँप लगाएका कारण हाल गाउँ नै बगैंचामा परिणत भएको उनको भनाइ छ । यस्तै १५ वर्षअघिदेखि १७ रोपनीमा आँप लगाएकी सोही गाउँकी पार्वती भण्डारी बँदेल आतंक सधैं झेल्नुपरेको बताउँछिन् ।
‘अहिले पनि बँदेलको बिगबिगी उस्तै छ,’ भण्डारीले गुनासो गर्दै भनिन्, ‘भूइँमा झरेको आँप त एउटा पनि खान पाइँदैन ।’