२६ जेठ २०८३, मंगलबार

सुदूरपश्चिममा पुनः कोरोना, ६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा पुनः कोरोना, ६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ ।

कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ । 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । यो तथ्यांकमा केही दिन अघिका कोरोना संक्रमितको संख्या समेत समेटिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएको थियो । कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरस विरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए । 

सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ ।
  
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ ।  कोरोनाको संक्रमण भएकाले संक्रमणमुक्त भएको १ महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ ।  

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा ६ लाख ३९ हजार ४८८ जनाको नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार ८९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्