
भारतको स्पाइसजेट एयरलाइन्स कम्पनीले उडिरहेको विमानको ककपिटमा कफी र मिठाइ खाने दुईजना पाइलटलाई निलम्बित गरेको छ ।
विमानको कन्ट्रोल प्यानलमा कफीको कप राखिएको तस्वीर भाइरल भएपछि घटना सार्वजनिक भएको हो ।
घटना हुँदा विमान ३७ हजार फीटको उचाइमा उडिरहेको थियो ।
फोटो सार्वजनिक भएपछि चौतर्फी आक्रोश फैलिएको थियो । भारतको उड्डयन प्राधिकरणले स्पाइसजेटलाई यस विषयमा चेतावनी दिएको थियो ।
घटनाको अनुसन्धान गरिरहेको अनि तस्वीर खिच्ने दुई पाइलटलाई ड्युटीबाट हटाएर निलम्बित गरिएको स्पाइसजेटले जनाएको छ ।
भारतीय उड्डयन नियमअनुसार, पाइलट र कर्मचारीहरूले ककपिटमा खाना तथा झोल पदार्थ लिन पाउँछन् तर कठोर मापदण्ड अपनाएर मात्र । सबै कपहरूमा बिर्को हुनुपर्छ र नपोखियोस् भन्ने सुनिश्चितताका लागि एउटा ट्रेमा राख्नुपर्छ ।
गत ८ मार्चमा दिल्लीबाट गुआहाटी गइरहेको विमानमा घटना भएको बताइएको छ ।
तस्वीरमा बिर्को नलगाइएको कफी कप देखिन्छ । उक्त कपमा एयलाइनको लोगो छ । त्यस कपलाई खतरनाक तरिकाले विमानको स्टार्ट लेभरमा राखिएको देखिन्छ ।
तस्वीरमा नदेखिएका पाइलटहरूले गुजिया भनिने मिठाइ खाएको पाइन्छ ।