
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले बुधवार रुसी समकक्षी सर्गे शोइगुसँग कुराकानी गरेका छन् ।
महिनौंपछि यी दुईबीच कुराकानी हुँदा कृष्ण सागरमा गत मंगलवार खसेको अमेरिकी ड्रोनको चर्चा भएको थियो ।
रुसले घोषणा गरेको हवाईक्षेत्र बन्देजलाई अमेरिकीहरूले उल्लंघन गरेकाले घटना भएको शोइगुले अस्टिनलाई बताए । रुसको टन नजिक अमेरिकी ड्रोन खस्नु उत्तेजनात्मक काम भएको र यसले कृष्ण सागरमा तनाव बढाउने जोखिम रहेको शोइगुको भनाइ छ ।
पेन्टागनले आयोजना गरेको प्रेस ब्रीफिङमा अस्टिनले फोनकल गरेको पुष्टि गरे । ठूला शक्तिहरूले पारदर्शिता र संवादको नमूना प्रस्तुत गर्नु महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
तर अमेरिकाले अन्तर्राष्ट्रिय कानूनबाट अनुमति प्राप्त सबै स्थानमा ड्रोन उडाउन पाउनुपर्ने उनको भनाइ छ ।
मंगलवार रुसका दुईवटा लडाकू विमानले अमेरिकी एमक्यू–९ रीपर ड्रोनलाई कृष्ण सागरमा खस्न बाध्य बनाएको अमेरिकी सेनाको युरोपीयन कमान्डले जनाएको थियो ।