
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ ।
नगरपालिका भित्रका ११ वटै वडामा सञ्चालित १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । यसमा विजेता विद्यालयबीच दुर्छिम माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाले हाजिरी जवाफ प्रतियोगिता गराएको थियो ।
५ कक्षासम्मका विद्यार्थीको हाजिरी जवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा मावि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् ।
नगरपालिका भित्रका १२ वटै माविका ६ देखि १० कक्षासम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन् ।
५ कक्षासम्मका विद्यार्थीबीच गराइएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने बुलापन्थे मावि धितुङ र १० कक्षासम्मका विद्यार्थीबीच भएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने सरस्वती मावि अर्खौलेलाई हौसलास्वरूप नगद ५०–५० हजार रुपैयाँ प्रदान गरिएको नगरपालिकाले जनाएको छ । ११ र १२ कक्षाका विद्यार्थीका लागि ‘हाम्रो सपना समृद्ध हलेसी तुवाचुङ नगरपालिका’ शीर्षकमा वक्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
प्रतियोगितामा च्यास्मिटार माविका मेनुका राई प्रथम, महेन्द्रोदय मावि हलेसीका नमराज मगर दोस्रो, जनता माविका मनिषा पौडेल तेस्रो र ज्योति माविका रमेश कार्की चौथो भएका छन् । विजेता विद्यार्थीलाई क्रमशः ७ हजार, ६ हजार र ५ हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए ।
नगरपालिकाको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको कार्यक्रमले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ । पाठ्यक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्य ज्ञानबाट २० प्रतिशत प्रश्न सोधिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका छन् । सामाजिक विकास संयोजक एवं १ नम्बर वडाका वडाध्यक्ष रुद्रकुमार राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, वडाध्यक्ष, प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति थियो ।