
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ ।
गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो शहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजनिक सुनुवाइको काम शुरू भइसकेको उनले बताए । ‘अहिले सबै वडामा सुनुवाइ हुने क्रम चलिरहेको छ,’ उनले भने, ‘कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासो के छन् भनेर राय सुझाव संकलनको काम भइरहेको छ ।’
लगत्तै परामर्शदाता, भूगर्वविद्, अमिन, इन्जिनीयर लगायतका प्राविधिकको टोलीले गुरुयोजना निर्माणका लागि सुझाव सहितको प्रतिवेदन तयार पार्ने उनले बताए ।
करीब साढे २ महिना भित्रमा गुरुयोजना निर्माणको काम सम्पन्न भइसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । ‘एकपटक निर्माण गरेको सडक २–४ वर्षमा भत्काएर पुनः नयाँ बनाउनुपर्ने बाध्यता सबैतिर छ, त्यसले समय र लगानी समेत बर्बाद भइरहेको छ,’ उनले भने, ‘यसलाई रोक्न र विकासलाई दीर्घकालीन लक्ष्यसहित तीव्रगतिमा अघि बढाउन पालिकाले यातायात गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।’
उनले पालिकाले आफ्नै यातायात गुरुयोजना बनाएपछि पालिकाभित्र सडक निर्माण गर्दा दीर्घकालीन लक्ष्य बनाएर योजनाबद्ध रूपमा सडक निर्माणको थालनी गरिने समेत बताए ।
‘गुरुयोजना निर्माण गर्दा पालिकाभित्रका सडकलाई ४ भागमा वर्गीकरण गर्न लागिएको छ,’ अध्यक्ष देवकोटाले भने, ‘वर्गीकरणका क्रममा सडकका मापदण्ड समेत निर्धारण गरिनेछ र त्यसका आधारमा मात्र सडक निर्माणको काम अघि बढ्छ ।’
उनका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनामा ‘क’ वर्गको सडकको न्यूनतम मापदण्डअनुसार चौडाइ १४ मिटर रहनेछ भने ‘ख’ वर्गको सडकको न्यूनतम मापदण्डमा चौडाइ १० मिटर रहने व्यवस्था गरिनेछ । ‘ग’ वर्गको सडकको चौडाइ न्यूनतम ८ मिटर र ‘घ’ वर्गको सडकको मापदण्ड चौडाइ न्यूनतम ६ मिटर कायम गरिने अध्यक्ष देवकोटाले बताए ।