
सरकारले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने तयारी गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रविविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णयसहित टिप्पणी उठाएर उच्च सरकारी वकिलको कार्यालयमा पठाएको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेको छ ।
'तथ्य, प्रमाण तथा मिसिलको आधारमा सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो,' उपाध्यायले लोकान्तरसँग भने, 'त्यसका लागि आधार, कारणसहित खुलाएर हामीले निर्णय गरेका हौं ।'
के कति कारणले मुद्दा नचल्ने हो, तथ्य के हो, ऊ विदेशी नागरिक थियो वा त्यो बेला गैरआवासीय नेपाली थियो वा निष्क्रिय नागरिकता भएको नेपाली थियो, सबै आधार र कारण खुलाएर उच्चमा पठाइएको उनले बताए ।
उच्च सरकारी वकिलको कार्यालय पाटनका प्रवक्ता सुवासकुमार भट्टराईले चैत १ गते नै त्यससम्बन्धमा निर्णय गरेर अन्तिम निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइएको जानकारी दिए ।
महान्यायाधिवक्ता दीनमणि पोखरेलले उक्त निर्णयको फाइल आफूकहाँ नआइपुगेको बताए ।
'तलबाट ५/७ वटा प्रक्रिया पूरा गरेर मात्र मकहाँ आइपुग्छ,' पोखरेलले भने, 'आजको मितिसम्म यससम्बन्धमा निर्णय भएको छैन ।'
अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएका बेला रविले निष्क्रिय नागरिकता प्रयोग गरी नेपाली पासपोर्ट लिएका थिए ।
गलत विवरण पेश गरी नेपाली पासपोर्ट लिन कानूनत: वर्जित छ ।