
प्रमुख प्रतिपक्षी दल एमालेले रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सरकारले युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपियाँले मूल्यवृद्धि गरेको भन्दै यसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको एमालेको बताएको छ।
‘कृषिको प्रचुर सम्भावना भएको देशमा कृषिमा सरकारी लगानी वृद्धि गरी उत्पादक किसानलाई प्रोत्साहनमार्फत देशमै स्वरोजगारीको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि तथा कृषिजन्य उपजमा आत्मनिर्भर राष्ट्र बनाउँदै जानुपर्नेमा विनाकारण अचानक रासायनिक मलको मूल्य बढाई किसानलाई कृषि उत्पादनमा लाग्न निरुत्साहित गर्ने नेपाल सरकारको निर्णय भर्त्सनायोग्य छ’ एमालेको कृषि तथा पशुपक्षी विकास विभाग प्रमुख गिरधारीलाल न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा लेखिएको छ, ‘हामी यस निर्णयको कडा शब्दमा निन्दा गर्दछौं । नेपाली किसानको प्रतिस्पर्धी क्षमतालाई कमजोर पारी विदेशी उत्पादनलाई नेपाली बजार कब्जा गर्न सहज गराउने नियोजित उद्देश्यसहित ल्याइएको उक्त निर्णय विदेशीलाई खुशी पार्ने कामको निकृष्ट उदाहरण हो भन्ने कुरामा दुईमत हुन सक्दैन ।’
विनाआधार गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन एमालेले माग गरेको हो ।
रासायनिक मल आयातमा सरकारले दिने अनुदान रकम घटाएर बजार मूल्य बढाउने निर्णय गरेको थियो।
कृषि मन्त्रीको विभागीयनिर्णय अनुसार, मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात बिन्दुमा युरियाको बिक्री मूल्य प्रतिकेजी २५ रुपैयाँ पुर्याएको थियो। यसअघि युरिया प्रतिकेजी १४ रुपैयाँ मात्रै थियो।