
बुटवल । पश्चिम नवलपरासीको रामग्रामस्थित पाल्ही बहुमुखी क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
स्ववियू सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी २८ मतान्तरले विजयी भएका हुन् । कुर्मीले १२८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु सहितको संयुक्त प्यानलका कृष्ण पटेलले १०० मत पाए । यस्तै सचिवमा पनि जनमत विद्यार्थी संघका प्रेमसागर यादव १४५ मत ल्याएर विजयी भए ।
सचिवमा नेविसंघका शिव प्रसाद हजामले ९६ र अनेरास्ववियुको संयुक्त प्यानलकी रामाकान्ती थारुले ७९ मत पाइन् । कोषाध्यक्षमा जनमत विद्यार्थी संघका सितुकुमारी पटेल १३० मत ल्याएर विजयी हुँदा नेविसंघका प्रतिमा यादव र संयुक्त प्यानलका प्रविन कुमार हरिजनले समान ९७ मत ल्याएर पराजित भए ।
क्याम्पसमा कुल ३२९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २३५ छात्रा रहेको निर्वाचन संयोजक सुर्यनाथ दास पटेलले जानकारी दिए । यससँगै जनमतको विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा खाता खोलेको छ ।