
मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिम नेपालका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोमवार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।