२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

प्रधानमन्त्रीले विश्वासको मत पाउने निश्चित, कांग्रेस सरकारमा

प्रधानमन्त्रीले विश्वासको मत पाउने निश्चित, कांग्रेस सरकारमा

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । नयाँ सत्ता समीकरण बनेसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

पुस १० मा प्रचण्ड एमाले, राप्रपासहितका ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पछि राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादीसहित ८ दलको नयाँ समीकरण बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा निरन्तरता दिने सहमतिसहित नयाँ समीकरण बनेको थियो । 

नयाँ समीकरणमा अहिले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायत छन् । यस्तै रास्वपाले पनि प्रचण्डलाई विश्वासको मत दिने भएको छ । 

प्रचण्डको विपक्षमा हाल नेकपा एमाले, राप्रपा र नेमकिपाले मात्रै देखिएका छन् । यसआधारमा प्रचण्डले संसदबाट विश्वासको मत पाउने निश्चित छ ।
००००
नेपाली कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएको छ ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

‘चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसमा नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णयका लागि कार्यसम्पादन समितिले संसदीय दललाई निर्देशित गर्नेछ,’ महतले भने, ‘संविधानको रक्षा, सम्बद्र्धन, वृहत्तर विकास र समृद्धिप्रति केन्द्रित रहेर काम गर्ने अपेक्षासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने भएका हौं ।’
००००
यसैगरी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप लगाएको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा लिने विश्वासको मतमा पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।
००००
यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ। 
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतलिनेबारे सदनलाई जानकारी गराएका हुन्।
००००
त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन हुन बाँकी सबै क्याम्पसहरूमा चैत १२ अघि नै निर्वाचन गरिसक्न आग्रह गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले आइतबार विज्ञप्तिमार्फत आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी काम गरेर निर्वाचन गरिसक्न आग्रह गरेका हुन् ।

‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ । आइतबारको स्ववियु निर्वाचको मतगणना चलिरहेको छ । 
००००
नवनिर्वाचित उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपति निर्वाचित  भएसँगै उनले जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनको शपथ सोमबार तय भएको छ ।
००००
विराटनगर क्षेत्र आइतबार दिनभर तनावग्रस्त भएको छ। कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले गरेको प्रदर्शनका क्रममा केही प्रहरीसहित आन्दोलकारीहरू घाइते भए।  निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।
००००
सर्वोच्च अदालतले अब अन्तरिम आदेशका मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको यही चैत ३ गते बसेको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरुको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको हो ।
००००
सरकारले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने तयारी गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रविविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णयसहित टिप्पणी उठाएर उच्च सरकारी वकिलको कार्यालयमा पठाएको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेको छ ।
००००
प्रमुख प्रतिपक्षी दल एमालेले रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सरकारले युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपियाँले मूल्यवृद्धि गरेको भन्दै यसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको एमालेको बताएको छ।
००००
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।  आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्