२५ असार २०८३, बिहीबार

भारत : खालिस्तानी नेता अमृतपाल सिंहलाई खोज्दै पञ्जाब प्रहरी, भेटिए हतियार

चैत ६, २०७९
भारत : खालिस्तानी नेता अमृतपाल सिंहलाई खोज्दै पञ्जाब प्रहरी, भेटिए हतियार

भारतबाट छुट्टिएर बेग्लै खालिस्तान बनाउने अभियान चलाइरहेको अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले धुइँपत्ताल खोजिरहेको छ । 

वारिस पञ्जाब दे नामक संगठनका प्रमुख अमृतपालका विषयमा नयाँ नयाँ खुलासा पनि भइरहेको छ । उसले नशामुक्ति केन्द्र तथा गुरुद्वारामा हातहतियार भण्डारण गरेको अनि युवाहरूलाई आत्मघाती आक्रमणका लागि तयार रहन भनेको खुलेको छ । 

त्यससँगै उसले आनन्दपुर खालसा फोर्स नामक निजी सेना पनि बनाइरहेको पाइएको छ । 

अमृतपाल र उसका साथीभाइको घरमा खानतलाश गर्दा ठूलो संख्यामा हतियार बरामद भएको छ । 

भारतीय सुरक्षा एजेन्सीहरूले पाएको सूचनाअनुसार, अमृतपाल पाकिस्तानी गुप्तचर निकाय आईएसआई तथा विदेशमा रहेका खासलस्तान समर्थकहरूको इशारामा दुबईबाट भारत आएको थियो । मानव बम बनाउनका लागि उसले युवाहरूलाई ब्रेनवाश गरिरहेको थियो ।

पञ्जाब प्रहरीले अहिलेसम्म अमृतपालका ११२ समर्थकहरूलाई पक्राउ गरिसकेको छ । 

उसको घरबाट आनन्दपुर खालसा फोर्स (एकेएफ) लेखिएको ज्याकेटहरू बरामद गरिएका छन् । जल्लूपुर खेडा गाउँमा रहेको उसको घरको गेट र पर्खालमा पनि एकेएफ लेखिएको छ । 

जालन्धरको सलीना गाउँबाट एउटा ईसुजु कार पनि बरामद गरिएको छ । त्यही गाडी चढेर ऊ भागेको बताइएको छ । त्यस गाडीबाट ३१५ बोर राइफल, ५७ वटा लाइभ बुलेट, एउटा तरवार र एउटा वाकीटकी बरामद भएको छ । गाडीको मालिक मनप्रीत सिंहलाई पक्राउ गरिसकिएको छ । 

केही दिनअघि अमृतपालले आफ्नो एक समर्थकलाई छुटाउनका लागि अजनाला प्रहरी कार्यालयमा आक्रमण गरेको थियो । त्यसपछि प्रहरीले उक्त समर्थकलाई छोड्नुपरेको थियो । 

घटनामा सातजना प्रहरी जवान घाइते भएका थिए । अमृतपालले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पनि धम्की दिएको थियो । त्यसपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले शाहसँग भेटघाट गरेका थिए । शाहले अमृतपालविरुद्ध कारवाही चलाउनका लागि मानलाई निर्देशन दिएका थिए । 

अहिले पञ्जाबमा सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ । ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । राज्यमा मंगलवारसम्म इन्टरनेट बन्द गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्