
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे ।
सोमवार प्रतिनिधिसभामा विश्वासको मत लिनेक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रचण्डले अनेक गरेर बोलाएकाले बालकोट गएको दाबी गरेका हुन् ।
‘एउटा परिस्थितिमा म बालकोट गएको हो । मलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै गएको होइन, मचाहिँ यतै बल गर्दै थिएँ,’ प्रचण्डले भने, ‘बोलाउँदै आउनुभयो, अनेक गरेर बोलाउनु भयो, तपाईंहरूले बोलाएर गएको हो । जानुपर्ने परिस्थिति भएर गएँ । दुईपटक प्रधानमन्त्री बनाइदिएकोमा तपाईंले ऋण तिर्नुपर्ने थियो । अझै एक किस्ता बाँकी छ ।’
प्रचण्डले अहिलेको स्थिति आउनुको कारण एमालेलाई थाहा भएको बताए ।
‘अघि बोल्ने क्रममा विष्णु पौडेलजीले किन यस्तो भयो भनेर प्रश्न गर्नुभयो । यो कुरा तपाईंलाई पनि थाहा छ, तपाईंले आफ्नै आत्मासँग सोध्नुस्,’ पौडेललाई जवाफ दिँदै प्रचण्डले भने ।