०२ असार २०८३, मंगलबार

सराङघाटमा विद्युत् सबस्टेसन निर्माण

सराङघाटमा विद्युत् सबस्टेसन निर्माण
प्रतिकात्मक तस्वीर

तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३/११ केभी सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये १ हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी  नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

सराङघाट सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् । २ सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्