
नेपाली कांग्रेस महामन्त्री गगन थापाले ४८ सालपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बढाएको राष्ट्रिय ढुकुटीबाटै एमाले नेतृत्वको सरकारले वृद्धभत्ता बाँड्न सकेको बताएका छन् ।
नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा थापाले नागरिकलाई विश्वास गर्न सक्दा फेरि पनि अर्थतन्त्र उठाउन सक्ने बताएका हुन् ।
‘सरकारले नागरिक पाल्ने होइन । नागरिकले सरकार पाल्छ । नागरिकमाथि विश्वास गरोस् । नागरिकले ४८ सालको स्वतन्त्रतामा विश्वास नगरेको भए ५१ सालमा श्रद्धेय मनमोहन अधिकारीले आएर एक सय रुपैयाँ वृद्धभत्ता बाँड्न सक्ने थिएनन् । गिरिजा सरकारमा आउँदा सरकारको खुत्रुकेमा १२ अर्ब मात्रै थियो’, थापाले भने, ‘जबकि तीन वर्षमा खुत्रुकेमा ३६ अर्ब भयो । तीन वर्षमा सावा ब्याज तिर्नुपर्ने घटेर खुत्रुकेमा मा पैसा बढ्यो । त्यसपछि सरकारले नागरिक पाल्न सक्छु भनेर आँट गर्न सकेको हो । अझै बढी प्रतिस्पर्धाको वातावरण बनाउन सक्यौं भने इकोनोमी राम्रो बनाउन सक्छौं ।’
यसैले नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्न नहुने थापाले बताए ।
पछिल्लो अवस्थाप्रति नागरिक र तन्नेरीमा धेरै चिन्ता छाएको भन्दै थापाले आशावादी बनाएर काम गर्नुपर्ने बताए ।
‘६० सालमा तिर १० जनामध्ये ८ जनालाई सोध्दा तत्काल अवस्था चिन्ताजनक भन्थे । १० नै जनामा ८ जना आशावादी छौं भन्थे । पर उज्यालो छ भन्थे राप र ताप पाइन्छ भन्ने विश्वासमा थिए’, थापाले भने।
अहिले तथ्यांक सुध्रिएको बताउन सकिए पनि आज १० का १० कतै पनि आशावादी रहन नसक्ने उनको भनाइ थियो।
'सबै आत्तिएका छन् । ठाउँ छोडेर हिँड्ने हुलका हुल छन् । हामीले द्वन्द्वका बेला हामीले आशा देखाएका थियौं’, थापाले भने, ‘सांसदको हिसाबकिताब मिलायौं । अब हिजोबाट घडीको सुइ चल्न थाल्यो । अब हिसाब किताब पास भयो । दिनप्रतिदिन राम्रो गरेर तन्नेरीलाई आशावादी बनाउनुपर्छ ।’
कांग्रेसले शुरू गरेको शान्ति प्रक्रियालाई पूरा गरेपछि मात्रै गिरिजाप्रसाद कोइरालाप्रतिको सम्मान बढ्न पनि उनले बताए । मुख्य जिम्मेवारी कांग्रेसको रहेको भन्दै दलीय संकीर्णता र नाफाघाटाभन्दा माथि उठेर संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्ने उनको भनाइ छ ।