
मोरङमा १२ वटा क्याम्पस मध्ये १० वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।
निर्वाचन भएको मोरङमा १० वटै क्याम्पसको परिणाम सार्वजनिक भइसकेको छ ।
जसमध्ये चार वटामा एमाले निकट अनेरास्ववियु, ४ वटामा कांग्रेसनिकट नेविसंघ र माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियले एक-एक क्याम्पसमा नेतृत्व लिएका छन्।
मोरङका दुई वटा क्याम्पसमा स्ववियुको निर्वाचन भएको छैन । विद्यार्थी संगठनको विवादको कारणले रंगेली र सौँठा बहुमुखी क्याम्पसमा चुनाव रोकिएको छ ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल विजयी भएका छन् ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसमा अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन् ।
एमालेनिकट अनेरास्ववियुले डिग्री क्याम्पस विराटनगर, लेटाङ क्याम्पस लेटाङ , रमाइलो क्याम्पस कानेपोखरी र नर्सिङ क्याम्पस विराटनगरमा जित निकालेको छ । लेटाङ क्याम्पसको स्ववीयु सभापतिमा अनेरास्ववियु छवि श्रेष्ठ निर्वाचित भएका छन् ।
रमाइलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु मालती रेग्मी विजयी भएकी छिन । मोरङकै उर्लाबारी बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस र बेलबारी बहुमुखी क्याम्पसमा पनि नेविसंघले जित निकालेको छ ।
मोरङको केराबारीको खदम क्याम्पसमा भने माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्व आएको छ । सुकुना बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियु विजयी भएको छ ।