
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा मंगलवार राति जीपको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नम्बरको जीपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
जीपका चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई बुधवार बिहान प्रहरीले बिर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोस्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।