
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी सेवाको करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन्।
बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताए।
प्रधानमन्त्री सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याई सबै क्षेत्रको अपनत्व स्थापित गरिने उनले बताए। उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे।
उनले भने, ‘सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिनेछ । कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिनेछ । सरकारी सेवामा, करारमा कार्यरत श्रमीकहरूलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा मलाई विशेष दुःख लागेको छ । यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्ने नै छु । या विश्वास पनि म दिलाउन चाहन्छु ।’
प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको पनि बताए।
सरकारले विदेश जानेहरूलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उनले उल्लेख गरे।
प्रचण्डले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरूसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताए।
प्रधानमन्त्रीले आगामी दिनमा थप जनमुखी र श्रमिकमैत्री सेवा प्रवाह गरी युवाहरूले दुःख पाउने कुराबाट मुक्ति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।