
कोशी प्रदेशमा नयाँ सरकार बनाउने चलखेल भइरहेका बेला नेपाली कांग्रेसले भने प्रदेशलाई मध्यवधिमा जानबाट रोक्न शीर्ष नेतालाई गुहारेको छ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेका हुन्।
यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थापाले बताए।
नेता थापा, सांसद हिमाल कार्की, भीम पराजुली अमृत अर्याललगायत सांसदले नेतालाई भेटेका हुन् ।
शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई कांग्रेसका प्रदेश सांसदहरूले भेटेका थिए ।
सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत पुगे पनि विश्वासको मत लिन भने पुग्ने अवस्था छैन । राप्रपाले एमालेसँगै मिल्ने संकेत गरेपछि कोशी प्रदेशमा नयाँ सरकार बन्ने नबन्ने अन्योल छ ।
राप्रपा र एमाले मिल्दा ४६ हुन्छ भने सत्ता गठबन्धनका ४७ सांसद हुन्छन् । सभामुख माओवादीका छन्।
सभामुखले विश्वासको मत दिँदा बराबरी भए मात्रै निर्णायक मत दिन पाउने कानुनी व्यवस्था रहेको छ । कोशी प्रदेशमा एमाले ४०, राप्रपा ६, कांग्रेस २९ माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।

