
वैदेशिक रोजगारमा रहेका श्रमिक आजबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक सुरक्षा कोषले आयोजना गरेको एक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको औपचारिक घोषणा गरेका हुन् ।
सामाजिक सुरक्षा कोष सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मूल उद्देश्य राखेर विदेशमा श्रम गर्ने नेपालीको सामाजिक सुरक्षामा योगदान शुरू गरेको जानकारी दिएको छ ।
कोषले औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सन्दर्भमा कार्यक्षेत्रको विस्तार भएको बताएको छ ।
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृति भएपछि आज (बुधवार)बाट औपचारिक रूपमा कार्यान्वयन शुरू भएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।
उनका अनुसार स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम् आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम जम्मा गरेर कोषमा आबद्ध हुनसक्ने व्यवस्था भएको छ ।
यस्तो न्यूनतम् रकम मासिक जम्मा २ हजार २ सय मात्रै योगदान गर्ने पुग्छ । कोषमा अधिकतम् योगदान गरेर सेवा सुविधा लिन चाहनेले भने न्यूनतम् आधारभूत पारिश्रमिकको तीन गुणासम्म जम्मा गर्न सक्ने व्यवस्था भएको पन्थीले बताए ।
कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्ताहरूलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ।
नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू वा विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिहरूका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आबद्ध हुने व्यवस्था गरिएको छ ।
श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरूले कोषको वेभसाइटमार्फत सूचीकृत हुन सक्ने व्यवस्था भएको पनि कोषले जानकारी दिएको छ ।
सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्नका लागि चौबीसै घण्टा खुला रहने गरी कोषको कल सेन्टर र सामाजिक सञ्जालहरूको व्यवस्था गरेको छ ।
कोषका अनुसार गैर आवासीय नेपालीहरूको संस्था र कोषबीच सहकार्यका लागि सम्झौता भइसकेकाले ८० भन्दा बढी मुलुकमा भएका यस संस्थाको सञ्जालहरूबाट समेत आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकाले कोषमा आबद्ध हुन थप सहजीकरण हुनेछ ।
विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेशस्थित कार्यालयहरुबाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ।
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।