
आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ ।
यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मी लगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोड रुपैयाँको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताए ।
आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै ६० करोड रुपैयाँ लगानी गरिसकेको जनाइएको छ । होटलका देशभरका शाखामा गरी ३०० बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे । ‘काठमाडौं र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौं,’ उनले भने ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आउँदो दशकभित्र होटलका १०० शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । ‘जहाँबाट आतिथ्यको शुरूआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् ।
‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ तर हामी यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौं,’ प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचान सहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ । पौवामा आउने जो कोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।
पोखरामा खुलेको पौवाको ११औं शाखाको शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ । सो अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्ट लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।