
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उल्लंघन गरेको स्विकार गर्दै माफी मागेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उलंघन गर्ने काम भएको भनेका थिए।
उनले सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्विकार गर्दै माफी मागेका हुन्।
एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलीका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटकपटक मर्यादा विपरित काम भईरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन । पटकपटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ । सत्ता पक्षका माननीयज्यूहरूबाट यस प्रकारको काम भइरहेको छ । म गम्भीरतासाथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस् । यही विषय राख्न चाहन्छु ।’
त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए।
सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भएअनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’
प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नहुने उल्लेख गरिएको छ ।