
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी रहेको बताएका छन्।
आइतबार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पोख्रेलले पत्रकारितामाथि विश्वसनियताको खोजी गरिरहेको बताए।
पत्रकारहरूले आफूमाथि उठेका प्रश्नहरू स्वीकार्न सक्नुपर्ने उनले बताए। पत्रकारहरूले आफूले प्रश्न स्वीकार्न नसके अरूलाई प्रश्न सोध्ने अधिकार पनि नभएको उनको भनाइ थियो। उनले आफूमाथि उठेका प्रश्नहरू स्वीकारेर सच्चिन सक्नुपर्ने बताए।
उनले भने, ‘आजको पत्रकारिताको सन्दर्भमा केही प्रश्नहरू उठेका छन्, पत्रकारहरूले प्रश्न स्वीकार्न सक्नुपर्छ । एउटा पत्रकारले प्रश्न स्वीकार्न सक्दैन भने उसको नैतिक अधिकार हुँदैन कि उसले पनि कसैलाई प्रश्न गरोस् । त्यसकारण आफूप्रतिको प्रश्न स्वीकार्ने र करेक्शन हुने कुरामा हामी सबैभन्दा बढी लाग्यौँ भने त्यतिबेला मात्रै हामीलाई त्यो अधिकार हुन्छ कि हामीले अरूबारे प्रश्न उठाउँछौँ ।'
अध्यक्ष पोखरेलेले आफ्ना समाचारहरू विश्वसनीय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरूले जोड दिनुपर्ने बताए।
केही दिनअघि सभामुख देवराज घिमिरेले ठूला सञ्चारमाध्यमहरू र पत्रकारहरू बिक्न थालेका अभिव्यक्ति दिएका थिए।