
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गरेकी छन्।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गरेकी हुन् । बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना रोक्न, कर्णाली राजमार्गअन्तर्गत दैलेखको डुङ्गेश्वर सडकखण्डको जीर्ण खण्ड मर्मत र वादी समुदायका बालबालिकाको शिक्षा व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
सदस्य गमता विकले स्वास्थ्यमा ग्रामीण क्षेत्रका जनताको पहुँच हुन नसकेको तर भौतिक संरचना र जनशक्ति व्यवस्थापन गर्नुभन्दा रकम फ्रिज गराउने प्रवृति कहिलेसम्म दोहो¥याउने ? भन्नेर प्रश्न गरिन् ।
प्रदेशसभा सदस्य रनसिंह परियारले गत असोजको बाढीपहिराले क्षतविक्षत भएका संरचना निर्माण र भौतिक क्षतिका विषयमा सरकारले तत्काल व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
सदस्य देवेन्द्रबहादुर शाहीले माथिल्लो कर्णालीका जुम्ला, हुम्ला डोल्पा र मुगुमा फागुनबाट पठनपाठन सुरु भएको तर बालबालिकाको हातमा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।
प्रदेशसभा सदस्यले कलबहादुर हमाल र शेरबहादुर बुढा, हिक्मतबहादुर विष्ट, कल्याणी खड्का, तुलसा मल्ल, सुरेश अधिकारी, विजया बुढा, कृष्णकुमार बिसी र सन्तोषी शाहीले आमनागरिकले सदुपयोग गर्ने बजेट, योजना र कार्यक्रम बनाउनुपर्ने, सरकारले आफूखुसी बजेट रकमान्तर नगर्न, बाढीपहिराका कारण संकटग्रस्त क्षेत्रका रुपमा घोषित हुम्ला, मुगु, जुम्ला र कालीकोटका पीडित नागरिकलाई क्षति तथा राहत उपलब्ध गराउनुपर्ने माग राखेका थिए ।