
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले व्यापक भयको वातावरण बनाएको टिप्पणी गरेका छन् । सबै जना तर्सेका र सबैको सातो गएको उनको भनाइ थियो ।
बालेन सरकारका १०० दिनका कार्यक्रम सम्बन्धमा कांग्रेसले आयोजना गरेको छलफलमा सभापति थापाले सरकारले व्यापारी थुन्ने गलत नीति लिएको बताएका हुन् ।
'कानूनले चिनेको कुरा गर्दा हाम्रो समर्थन रहन्छ, हामी नेता र नाता भन्दैनौं, तर सरकारले जसरी व्यवहार गरेको छ– यो ठग हो, थुन्ने हो, बाँध्ने हो भन्ने गरी । चाहे निर्माण व्यवसायी होस् या कोही,' थापाले भने, 'कस्तो वातावरण भयो भने– व्यापक भयको वातावरण, सबै जना तर्सेका छन्, सबैको सातो गएको छ ।'
सभापति थापाले सरकारको कार्यशैलीका कारण कोही नयाँ व्यवसाय गर्ने अवस्थामा नरहेको बताए । सरकार मान्छेको लाइफभन्दा पनि सोसल मिडियाको लाइक हेरेर काम गरिरहेको उनले टिप्पणी गरे । 'मलाई के लागेको छ भने- कोही नयाँ व्यवसाय गर्नेवाला छैन,' उनले भने ।