
तनहुँमा चालू आर्थिक वर्षको ७ महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ ।
चालू आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुत्यु हुनेमा १० पुरुष, ४ महिला र १ बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, ५ महिला र ४ बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ ।
गत आव २०७८/७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, १ बालक र १ बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले ७ महिनाकै अवधिमा सवारीसाधनलाई कारबाही गरेर २ करोड ९ लाख ३७ हजार ५०० राजस्व संकलन गरेको छ । प्रहरीले २६ हजार ७०० सवारीसाधनलाई कारबाही गरेर राजस्व संकलन गरेको हो ।
कारबाहीमा पर्नेमध्ये २ पाङ्ग्रे सवारीसाधनको संख्या बढेको छ । ९ हजार ५४४ मोटरसाइकल तथा स्कुटर, ५ हजार १४५ ट्रक, टिपर, ५ हजार ९२९ कार, जीप, १ हजार २१९ ट्रयाक्टर र ४ हजार ६५८ यात्रुवाहक बस र २०५ अन्य सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३७ पुरुष, ८ महिला र ३ बालकले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४४ र आव ०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
जिल्लामा सबैभन्दा बढी २ पाङ्ग्रे सवारीसाधन दुर्घटना हुने गरेको छ । २ पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउँछन् । उनले भने, ‘तीव्र गतिका कारण २ पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो संख्या अत्यधिक छ ।’
सडकको भौगोलिक वनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहको छ ।
जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।