
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले १५ दिनमा सडकका खाल्डा किन पुर्न सकिएन भन्नेमा विभिन्न ८ वटा कारण दिएका छन् ।
पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफूहरूले अध्ययन गरेरै १५ दिनमा काठमाडौंका र एक महिनामा देशभरका सडकका खाल्डा पुर्ने भनिए पनि सफल हुन नसकेको प्रस्ट्याएका हुन्।
‘१५ दिनमा उपत्यकाका र १ महिनामा देशभरका सडकको खाल्डो पुर्छौ भन्यौं । हामीले कति खाल्डो छ । क्षमता कति छ भनेर अनुमान गरेर गरेरै भनेका थियौं’, श्रेष्ठले भने, ‘तीव्रतापूर्वक काम अगाडि बढायौं । तर हाम्रो सडकमा सडक विभागले मात्रै काम गर्दैन । ८ वटा निकायको काम र संयोजन गर्नुपर्ने रहेछ ।’
श्रेष्ठले सडक विभाग, काठमाडौं र ललितपुर महानगरपालिका, उपत्यका विकास प्राधिकरण, बाग्मती उच्च सभ्यता, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी, केयूकेएलसँग मिलेर काम गर्नुपर्दा समस्या रहेको बताएका हुन् ।
यी सबै संयन्त्र एक ठाउँमा उभिएर अघि नबढेसम्म नेपालका सडकलाई चुस्त दुरुस्त बनाउन नसकिने उनले प्रस्ट्याए।
यसैले १५ दिनमा र १ महिनामा सडकका पूरै खाल्डा पुर्न नसकिएको उनले बताए । तर पनि ९० प्रतिशत खाल्डो पुर्न आफूहरू सफल भएको उनले बताए । दीर्घकालीन समस्या समाधानका लागि ८ वटा अलग अलग संयन्त्रलाई एक ठाउँमा ल्याउनुपर्ने उनको भनाइ छ ।