
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरूदेखि संघीयताको विरोध गर्दै आएको छ ।
संघीयताविरुद्धको आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाउनका लागि सोमवार देशभर विरोध प्रदर्शन गरिएको सो पार्टीका नेताहरूले बताएका छन् ।
सोमवार रुपन्देहीको बुटवलमा संघीयता खारेजीको माग तथा मंहगी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।
विभिन्न नारासहित बुटवलको बसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको बताउँदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।
संघीयता विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने, ‘संघीयता खारेज नभए देश थप संकटमा पर्छ । आमनेपाली जनता संघीयताको विपक्षमा छन् ।’
महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयस्रोत भएका जनतालाई साँझ बिहानको छाक टार्न समस्या भएकाले दबाबमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रूपले संकटमा परेको बताउँदै संघीय प्रणाली आफैंमा बेठीक नभए पनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढाले भौगोलिक रूपमा सानो देश नेपालले आर्थिक रूपमा संघीयता थेग्न नसक्ने बताउँदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।
हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यही चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयानुसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी, मंहगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो ।