०३ साउन २०८३, आइतबार

वायुसेवा निगमको हेलचेक्र्याइँले मलेसिया उडान रोकिँदै, चार्टर उडानको अनुमति पाएन

वायुसेवा निगमको हेलचेक्र्याइँले मलेसिया उडान रोकिँदै, चार्टर उडानको अनुमति पाएन

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको लापरबाही र गैरजिम्मेवारीको कारण काठमाडौं–मलेसियाको नियमित उडान रोकिएको छ । निगमले समयमा नै मलेसियाको नागरिक उड्डयन प्राधिकरणबाट फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरण नगरेका कारण मंगलबारदेखिको नियमित उडान रोकिने भएको हो । 

निगमले समयमा नै प्रक्रिया पूरा गरेर उक्त एफएओसी नवीकरण नगराउँदा भोलि (मंगलवार)पछिका मलेसियाका लागि हुने सबै उडान ठप्प हुने भएको छ । वायुसेवा निगमका सहप्रवक्ता गणेश घिमिरेले संस्थानकै कमजोरीले उडान रोकिने भएको बताए । उनले भने, ‘नियमित उडान रोकिने भएकोले एक साताको लागि चार्टर उडान गर्ने तयारी भएको हो । नियमित समयमा हुने उडान नरोक्न र यात्रुसेवालाई ध्यानमा दिएर एक साताको लागि चार्टर उडान गर्न नेपाल नागरिक उड्डयनसँग अनुमित मागिएको छ ।’ निगमको समस्यालाई बुझेर प्राधिकरणबाट अनुमति आउने र उडान नरोकिने विश्वास आफूहरुलाई भएको पनि घिमिरेले लोकान्तरलाई बताए ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस अघि पटक पटक उक्त एफएओसी नवीकरण गर्न ताकेता गरिरहेको थियो । निगमले लामो समयदेखि एफओसी प्रमाणपत्र नवीकरण नगराएको कारण उडान नै रोकिने अवस्थामा पुगेको  छ । 

निगमका अनुसार एफएओसी नवीकरणको प्रक्रिया एक साता अगाडि मात्रै प्रक्रिया शुरु गरेको र उक्त प्रक्रिया भने पूरा भइनसकेको कारण उडान प्रभावित हुने भएको छ । सोही प्रक्रियाका लागि निगमले २२ सय रिंगेट मलेसियाको उड्डयन प्राधिकरणलाई तिरेर प्रक्रिया अगाडि भने बताएको जानकारी दिएको छ । तर प्रक्रिया पूरा नहुँदा अनुमति भने पाइसकिएको छैन । एक साताभित्र सबै प्रक्रिया पूरा हुन्छ भनेर नै त्यतिबेलासम्मको लागि चार्टर उडान गर्न खोजिएको घिमिरेले बताए ।

निगमको मलेसियामा नियमित उडान हुँदा हुँदै चार्टर गर्न अनुमति मागेकै विषयमा प्राधिकरणले सोमवार निमगालाई स्पष्टीकरण सोधेको छ । 
नेपाल र मलेसिया दुबैले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ । निगमले हाल सातामा ५ उडान गर्दै आइरहेको थियो । तर, सोमबारपछि एफएओसी नवीकरण नभएका कारण काठमाडौं–क्वालालमपुर–काठमाडौं नियमित उडान गर्न नपाउने भएपछि चार्टर उडानको अनुमति मागेको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नियमित सेड्युल उडान हुँदाहुँदै चार्टर उडानको अनुमति दिन नसकिने बताए । उनले भने उडानमा पूरा गर्नुपर्ने मापदण्ड र तोकिएको शर्त पूरा गर्ने काम सम्बन्धित वायुसेवाको हो । मलेसिया उडानको नियमित तालिका स्वीकृत भइसकेकोले चार्टर अनुमति दिन नसकिएको उनले बताए । चार्टर उडान नपाउँदा निगमको उडान नै बन्द हुने विषयको जिम्मेवार सम्बन्धित वायुसेवा निगम नै हुने पनि निरौलाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्